मंग्सिर ४, २०८१ मंगलबार
काठमाडौं । आफूलाई नागरिक अभियन्ताको दाबी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।प्रधानमन्त्री केपी ओलीले विदेशमा अर्बौं लगानी गरेको भन्दै सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि उनी मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
उनले कम्बोडियामा रहेका एक नेपालीसँग भिडियो कलमा कुरा गरेको र प्रधानमन्त्री केपी ओलीसहित उनी निकट उच्च अधिकारीहरुले कम्बोडियामा अर्बौं रुपैयाँ अवैध रुपमा लगानी गरेको प्रसाईंले आरोप लगाएका थिए ।
उक्त भिडियो सार्वजनिक भएको केही घन्टामै प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । यद्यपि प्रसाईंले विदेशमा लगानी गरेको विषयमा पर्याप्त प्रमाण भने पुष्टि गर्न सकेका छैनन् ।
कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा कागजात सार्वजनिक गरिएको छ । तर कागजातमा ओलीको नाम र हस्ताक्षर मिलेको देखिएको छैन ।
प्रसाईंले सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख दीपक थापाले बताएका छन् । उनलाई पक्राउ गरेर ब्युरोमा ल्याइएको थापाले बताएका छन् । प्रसाईंले सामाजिक सञ्जालमा फैलाएको अफवाहको अध्ययन गरेर उनलाई पक्राउ गरिएको थापाको भनाइ छ ।
२ महिनाअघि पनि प्रसाईंले प्रधानमन्त्री ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुविरुद्ध सामाजिक सञ्जालमार्फत गम्भीर आरोपहरु लगाएपछि पक्राउ परेका थिए ।
Clickmandu
Copyright © 2024 Shankharapuronline
Leave A Comment