बचतकर्ताको रकम ठगी आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ !! – Shankharapuronline
Latest
img

बचतकर्ताको रकम ठगी आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ !!

Design

बचतकर्ताको रकम ठगी गरेको आरोपमा ओखलढुंगाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

जिल्लाको चम्पादेवी गाउँपालिका- ९ विलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष सुनुवारलाई काठमाडौं महानगरपालिका– ६ बौद्धबाट र मोलुङ गाउँपालिका- ४ हर्कपुरका खत्रीलाई घरैबाट बुधबार पक्राउ गरिएको प्रहरी निरीक्षक बलिस्टार सिंहले जानकारी दिए । उनीहरूलाई अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद लिइएको छ !

बचतकर्तामध्येका तिलक श्रेष्ठसमेतले गत मंसिर १५ गते सहकारीविरुद्ध जाहेरी दर्ता गरेका थिए । ककनी गौरीवन सहकारी संस्थामा आफूले रकम जम्मा गरेको र उक्त बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहकारीका सञ्चालकले रकम फिर्ता नगरेको भन्दै कानुनअनुसार कारबाहीको माग गरेर बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरी प्राप्त भएपछि प्रहरीले उजुरीकर्ता र सहकारी सञ्चालकर्तालाई राखेर समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालयमा छलफल गराएको थियो । उक्त छलफलमा एक साताभित्र बचतकर्ताको रकम फिर्ता गर्ने सहमति भएको थियो ।

सहकारीका अध्यक्ष विनोद सुनुवारसहित सहकारीका पदाधिकारी बचतकर्ताको रकम फिर्ता गर्नुको सट्टा सम्पर्कविहीन भएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको थियो !

अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नभएपछि अदालतले सहकारीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि ककनी गौरीवन सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरू फरार भएका थिए ।

पक्राउ परेका सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुंगाका जिल्ला सचिव हुन् । यसैगरी, सहकारीका अन्य सञ्चालक समितिका पदाधिकारी भने फरार छन् ।
नयाँ पत्रिका बाट साभार

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment